काठमाडौं । यदी तपाईं नयाँ लगानीकर्ता हुनुहुन्छ भने तपाईंलाई एउटा प्रश्न, नेप्सेमा कतिवटा सेसन हुन्छन् ? यसमा तपाईंको स्वाभाविक जवाफ हुनसक्छ, दुईवटा । एउटा प्रिओपन सेसन, एउटा कन्टिन्यु सेसन । यदी तपाईंको जवाफ यहि हो भने, तपाईंले थाहा पाउनुपर्ने नेप्सेको अर्को सेसन पनि छ,जुन अहिले त बन्द छ, तर कुनै बेला सूचारु थियो । र यो सेसन बन्द गर्न तत्कालीन समयमा ठुलै सेयर खेलाडीहरु लागि परेका थिए । किन होला ? तपाईंको अर्को प्रश्न हुन सक्छ । यसको सटिक जवाफ छ, किनकि यो सेसनका कारण ठुला सेयर खेलाडीहरुले बजारको अन्तिम समयमा गर्नसक्ने चलखेल गर्न नमिल्ने भएको थियो । कसरी त ? तपाईंको फेरी प्रश्न हुन सक्छ । र आज हामी त्यहि प्रश्नको जवाफसहित जो सेसन किन बन्द गरियो, कसको स्वार्थमा बन्द गरियो, बन्द गरेपछि के भयो ? बन्द नगर्दा के हुन्थ्यो ? र अव फेरी किन नेप्से सो सेसन सुरु गर्दैछ भन्ने तथ्य बुझाउने प्रयास गर्दैछौँ ।
के हो क्लोजिङ सेसन ?
सेयर कारोबारको अन्तिम मिनेट कुनै स्टकमा अस्वाभाविक वृद्धि भएको वा अस्वाभाविक घटोत्तरी भएको त तपाईंले देख्नुनै भएको होला । २ बजेर ५९ मिनेटसम्म कुनै स्टकको भाउ झण्डै नेगेटिभ सर्किट हान्न लागेका बेला अन्तिम मिनेटमा गएर पोजेटिभ सर्किट हानेर बजार बन्द भएका थुप्रै उदाहरणहरु तपाईंले देख्नु नै भएको होला । कुनै कम्पनीको सेयरलाई निकै तल छ भन्ने देखाएर अरुलाई सस्तोमा बेच्न लगाउने र आफुले किनेर पोजेटिभ सर्किट लगाउने, फेरि त्यहि कम्पनी त अव बढ्यो भन्नेजस्तो पार्ने र महँगोमा अरुलाई सोझासाझालाई सेयर भिडाएर आफुले भोलिपल्ट बेच्ने गरिरहेका हुन्छन् ‘खेलाडी’हरु । यस्तो केसमा कतिपयपटक तपाईं आफैं पनि फस्नुभएको होला । नफसे पनि यस्तो केसबारे तपाईंले पक्कै सुन्नुभएकै होला । हो, आज पनि यसरी अन्तिम मिनेटमा बजारमा ‘चलखेल’ गर्नेहरु बजारमा सक्रिय छन् । र, नेप्सेकै अपरिपक्व निर्णय र सेयर खेलाडीसँगको मिलेमतोका कारण आज पनि सोझा लगानीकर्ताहरु बजारमा फसिरहेका छन् ।
नेप्सेले २०७५ कात्तिक २० मा क्लोजिङ सेसन सुरु गरेको थियो । अर्थात सो दिनदेखि सेयर बजारमा सेयर कारोबारीका लागि नेप्सेले प्रि-ओपनिङ सेसन, कन्टिन्यु सेसन र क्लोजिङ सेसन गरी तीन प्रकारका सेसन चलाउँदै आएको थियो । अनलाइनमार्फत नै सेयर कारोबार हुने हुँदा क्लोजिङ सेसन अपरिहार्य हुने देखेर नै नेप्सेले तेश्रो सेसन चलाउने गरेको थियो । अहिले बन्द भएको तर तत्कालीन समयमा रहेको तेश्रो सेसन २:४५ बजेदेखि ३ बजेसम्म अर्थात बजारको अन्तिम ५ मिनेट चलाउने गरेको थियो । यो सेसन अन्तर्गत अन्तिम १५ मिनेटको कारोबारको एभरेजिङ गरेर क्लोजिङ प्राइस निकालिने गरिएको थियो ।
अर्थात, क्लोजिङ सेसनको समयमा, कुनै एउटा कम्पनीको कारोबार, विभिन्न मूल्यमा १० ओटा कारोबार भयो भने त्यो १५ मिनेटभित्रको कारोबारको सबै रकम र कित्ता जोडेर, त्यसरी जोडिएको रकमलाई कित्ताले भाग गर्दा आउने मूल्य नै, त्यो दिनको क्लोजिङ प्राइस हुने गरेको थियो । त्यसो गर्दा, जति मूल्य आउँछ, त्यो नै त्यस दिनको ‘क्लोजिङ प्राइस’ हुने गरेको थियो, जसका कारण अन्तिम समयमा कुनै खेलाडीले अहिलेको जस्तो कुनै कम्पनीको सेयर मूल्य अस्वाभाविक बढाउने वा घटाउने गर्न सक्दैनथियो । खेलाडीले त्यसो गर्न खोजे पनि अन्तिम १५ मिनेटको एभरेजिङ गरिएको ‘प्राइस’ नै क्लोजिङ प्राइस हुने भएकाले खेलाडीहरुले अहिले खेलेजस्तो खेलको खास औचित्य हुँदैनथियो ।
क्लोजिङ सेसन बन्द हुनुको कारण के हो ?
तर, चलखेल गर्न नपाएपछि सेयर खेलाडीले यो विषयमा चर्को विरोध गरे । उनीहरुले नेप्सेले गलत तथ्यांक देखाएको आरोप लगाएर यो सेसनबारे नबुझेका लगानीकर्ताहरुलाईसमेत भ्रमित पारेर नेप्सेमाथि गालीगलौजमा उत्रिए । आफुले गर्दै आएको चलखेल बन्द भएपछि खेलाडीहरुले एक त नयाँ लगानीकर्तालाई प्रयोग गरेर सामाजिक संजालमा गाली गर्ने, नेप्सेमा फोन गरेर थर्काउनेजस्ता हर्कत गर्न थाले भने नेप्सेका उच्च अधिकारीहरुसँग पनि यो सेसन बन्द गर्न र बन्द गरेवापत आफ्नो तर्फबाट ‘सहयोग’गर्ने भन्दै नेप्सेका उच्च अधिकारीहरुलाई दबाब दिन थाले ।
ठुला खेलाडीहरुले राजनीतिक पावरसमेत प्रयोग गरेर, सो सेसन तत्कालका लागि बन्द गर्न नेप्सेलाई दबाब दिए । ठुला खेलाडीहरुको चौतर्फी दबाब, त्यसमाथि नेताहरुको दबाबका कारण नेप्से अन्तत: सो सेसन बन्द गर्ने निर्णयमा पुग्यो । नेप्सेले पनि तथ्यांक नै गलत भएको ठुला खेलाडीहरुले बुझ पचाएर गरेको दाबीलाई कारण देखाउँदै तत्काल सो सेसन बन्द गर्ने निर्णय गर्यो । लगानीकर्तालाई बुझाउनुको सट्टा सो सेसन बन्द गरिएको विषयमा त्यतिनै बेला पनि आवाज नउठेको होइन । तर ठुला खेलाडी र नेप्सेका उच्च अधिकारीबीच भएको सेटिङ्गका अगाडि कसैको केहि लागेन, र सो सेसन अन्तत: बन्द नै भयो ।
सो सेसन बन्द भएपछि आजसम्म पनि सेयर खेलाडीहरुले अन्तिम समयमा सेयर मूल्यमा तिब्र चलखेल गर्ने गरेका छन् । यद्यपी, नेप्सेका प्रबन्धक निरन्जन फुँयाल लगानीकर्ता कन्फ्युज भएको गुनासो आएपछि सो सेसन रोकिएको दाबी गर्छन् । ‘अनि लगानीकर्तालाई भएको कन्फ्युजन हटाउने कि म्यानिपुलेटरलाई सहयोग हुनेगरी सेसन नै बन्द गर्ने त ?’भन्ने हाम्रो प्रश्नमा उनको भनाई थियो- ‘कतिपय कुरामा पछि हट्नु नै ठिक हुन्छ । यो केसमा पनि हामीले त्यहि गर्यौँ।’
क्लोजिङ सेसन फेरी खोल्ने तयारि !
तर, अन्तिम समयमा हुने चलखेलका कारण नयाँ तथा सिक्दै गरेका लगानीकर्ताहरु फसेपछि यस विषयमा चौतर्फी चासो हुन थाल्यो । अन्तिम समयमा हुने यस्तो चलखेल रोक्न नेप्से किन अग्रसर छैन भन्ने आवाज चौतर्फी रुपमा उठ्न थालेपछि नेप्सेले सो सेसन खेलाडीहरुबाट कति पैसा खाएर बन्द गर्यो भन्ने विषय पनि चर्चामा आउन थालिरहँदा अख्तियार लाग्ने डरले अहिले सो सेसन खोल्ने तयारीमा नेप्से छ । यस विषयमा अख्तियारले नै पनि चासो देखाउने सम्भावना बुझेर नेप्से अव सो सेसन खोल्ने तयारीमा छ । नेप्सेका प्रबन्धक निरन्जन फुँयालले यस्तो तयारी भईरहेको र यसका लागि आवश्यक छलफल गरिरहेको पुष्टी गरेका छन् ।
नेप्सेकै उच्च तहका केहि कर्मचारीका अनुसार तत्कालीन नेप्सेका सीइओ चन्द्र सिंह साउदलाई प्रभावमा पारेर सेयर खेलाडीहरुले यो सेसन बन्द गराउन सफल भएका थिए । साउद, नेप्सेका तीनै तत्कालीन सीइओ हुन्, जो सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा गोल्डेन सेयर लिएको आरोप लागेपछि नेप्से छोड्न बाध्य भएका थिए ।
अव प्रश्न उठ्छ, यदी यो सेसन ठिक थियो भने लगानीकर्तालाई बुझाउन छोडेर किन यो सेसन बन्द गरियो त ? यसमा घुसको लेनदेन थिएन भने सो सेसन बन्द गरेर गर्न खोजिएकोचाहिं के थियो ? आफ्नो सोहि निर्णयका कारण लाखौँ लगानीकर्ता ठुला खेलाडीको चलाखेलमा परेको हेक्का हुँदाहुँदै आजसम्म नेप्से यस विषयमा किन बोलेन ? कतै खेलाडीबाट दानापानी असुल्नकै लागि केहि समय सो सेसन चलाइएको त थिएन ? होइन भने लगानीकर्तालाई बुझाउने प्रयास किन गरिएन ? लगानीकर्ता सचेतना कार्यक्रम भन्दै बार्षिक लाखौँ बजेट सक्काउने अनि लगानीकर्तालाई बुझाउने ठाउँमा बुझाउन सकिएन भनेर उम्किन पाइन्छ ? यो केसमा दालमा कालो पक्कै केहि छ । सम्बन्धित निकायले, यस विषयमा छानविन गर्न आवश्यक छ ।
कतै यसपाली पनि केहि समय खोलेर, खेलाडीबाट घुस असुलेर फेरि सेसन बन्द गर्ने खेल त खेलिरहेको छैन नेप्से ? वा कतै यो सेसन खोल्ने तयारीमा छौँ भनेर सेयर खेलाडीलाई अत्याउने अनि पैसा असुल्ने प्लान त बनिरहेको छैन ? खबरदार यसपाली यस्तो भयो भने लगानीकर्तालाई कदापी सह्य हुने छैन । साना फस्नेगरी बुनिएका सबै जालको अन्त्य हुनुपर्छ । यो भन्दा दायाँबायाँ भयो भने यसपटक नेप्सेका हाकिम सापहरुको खरियत छैन । नेप्सेलाई चेतना भया । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्