×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीलाई बाहिर निकालेर एनआईसी एशिया लघुवित्तमा तालाबन्दी, ऋणीमाथि शोषण गरेको आरोप, प्रहरी के भन्छ ?

PRIME CA

कर्मचारीलाई बाहिर निकालेर एनआईसी एशिया लघुवित्तमा तालाबन्दी, ऋणीमाथि शोषण गरेको आरोप, प्रहरी के भन्छ ?

अर्थ सरोकार

२ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया लघुवित्तमा तालाबन्दी गरिएको छ । नेकपा (बहुमत)का कार्यकर्ताले दोलखाको चरिकोटस्थित संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय सञ्चालन भईरहेकै समयमा कर्मचारीलाई निकालेर कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीलाई नै कार्यालयबाट निकालेर तालाबन्दी गरेपछि अहिले संस्थाको सम्पूर्ण सेवा प्रभावित भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले भने तालाबन्दीको विषयमा आफूहरुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । ‘तालाबन्दी गरिएको भन्ने विषयमा कुनै पनि जानकारी आएको छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘किस्ता उठाउन नआउनू भनेर ब्यानर टाँसेको चाहिँ हो, तालबन्दी गरेको बारे जानकारी छैन ।’

त्यस्तै, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले देशभर लघुवित्त वित्तीय संस्थाहरुमा तालाबन्दी र कर्मचारीहरुमाथि दुव्र्यहार हुनु बिडम्बना भएको बताएका छन् । राष्ट्र बैंककै निर्देशन र मापदण्डभित्र रहेर कार्यसम्पादन गर्दा पनि यसरि लघुवित्तविरुद्द अराजक गतिविधि बढ्नुले समग्र प्रणालीनै खलबल्याउन सक्ने शर्माले दाबी गरेका छन् ।  गृहको सर्कुलरका बाबजुत पनि सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तकर्मीहरुलाई सुरक्षा दिन नसकेको शर्माको आरोप छ । यसरी दिनैपिच्छै ठाउँठाउँका लघुवित्त वित्तीय संस्थाहरुमा तालाबन्दी हुनु निकै गम्भीर विषय भएको बताउँदै उनले राज्यले यथाशिघ्र यसप्रति कदम चाल्नुपर्ने माग समेत गरेका छन् ।

यसै पनि पछिल्लो केही समय यता देशभर लघुवित्तविरुद्धको आन्दोलन भुसको आगोजसरी फैलिरहेको छ । सुरुवाती चरणमा मनिराम ज्ञवाली नेतृत्वमा संघर्ष समितिका नाममा लघुवित्तविरुद्धको आन्दोलन चर्किएको थियो भने अहिले व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्तका ऋणीहरु संस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएका छन् । यसैबीच कार्यालयमा तालाबन्दी र कर्मचारीमाथि दुव्र्यवहार गर्ने क्रम बढेसँगै लघुवित्त कर्मीहरु कसरी काम सञ्चालन गर्ने भन्ने विषयमा अन्यौलमा छन् ।

केही समय अघि बैंक तथा वित्तीय संस्थाका चार संगठनले संयुक्त रुपमा सुरक्षाको माग गरेपछि गृह मन्त्रालयले बैंक तथा लघुवित्तकर्मीलाई सुरक्षा दिन र लघुवित्त वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न सर्कुलर जारी गरेको थियो । तर, गृहबाट जारी सर्कुलरको कार्यान्वयन हुन नसक्दा लघुवित्त क्षेत्र थप त्राहिमाम बनेको छ ।

दोलखामा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले काभ्रेमा सामुदायिक लघुवित्त, सिन्धुपाल्चोकमा राष्ट्र उत्थान लघुवित्त, सिरहाको ग्लोबल आइएमई लघुवित्त, पाल्पाको आरम्भ चौतारी लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: