प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । बुधबार नै पक्राउको तयारी गरिए पनि उनी रातभर फोन अफ गरेर लुकेका थिए ।
नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै थुप्रै नेपाली नागरिकबाट करोडौं रुपैयाँ उठाएको अभियोग उनीमाथि छ । यस प्रकरणमा मुछिएका उनका छोरालाई बुधबार नै प्रहरीले पक्राउ गरिसकेको छ ।
उनी पनि बुधबार नै पक्राउ पर्नेवाला थिए । तर एयरपोर्टमा आफुलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको थाहा पाएपछि उनले हवाईटिकट नै रद्ध गरेका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले भैरवहाबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहमा टोपबहादुर र उनका छोरा पनि थिए । यहि प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयमाका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परिसकेका छन् । यता यो प्रकरणका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरुको बयानका आधारमा थप हाईप्रोफाइलहरु पक्राउ परेका हुन् । यो प्रकरणमा काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांडदेखि अख्तिया प्रमुख प्रेम राईसमेत तानिने देखिएको छ ।