काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । बुधवार रिलायवल लाईफ र एलिट क्यापिटलबीच यस सम्बन्धि सम्झौता भएको हो । यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० मा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।
बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ अर्ब पुर्याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।