काठमाडौं । काठमाडौंस्थित अनामनगरमा केन्द्रीय कार्यालय रहेको स्टक ब्रोकर नम्बर ५७ अर्थात आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.ले भक्तपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।
भक्तपुर गठ्ठाघरमा कार्यालय रहेको उक्त शाखाको शुक्रबार एक कार्यक्रमकाबीच उद्धघाटन गरिएको हो । शाखा उद्धघाटन गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. को शाखा भक्तपुरमा सञ्चालनमा आउनु जिल्लाका सेयर लगानीकर्ताहरुको लागि खुसीको कुरा भएको बताएका थिए ।
साथै, सेवा विस्तारका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा शाखाबाट राम्रो सेवासुविधा पाउने आशा व्यक्त गरे । उनले भक्तपुर उद्योग वाणिज्य संघले सेयर बजारसम्बन्धी जिल्लाका उद्योगी, व्यवसायीहरुलाई सुसूचित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आर्यताराको शाखासँग समन्वय र सहकार्य गर्न संघ तत्पर रहेको बताए ।
कार्यक्रममा आर्यताराका संस्थापक अध्यक्ष भरतप्रसाद नेपाल, अध्यक्ष रामचन्द्र भट्टराई, मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य, लगानीकर्ता दिनेश हुमागाईंलगायतले आआफ्नो धारणा राखेका थिए । २०६९ सालबाट कारोबार सुरु गरी देशका विभिन्न जिल्लामा पाँच वटा शाखा विस्तार गरिसकेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.को यो छैठौं शाखा हो ।
कार्यक्रममा ७५ भन्दा बढी सेयर लगानीकर्ताहरु सहभागी भएका थिए । आर्यताराको हाल चुक्ता पूँजी १० करोड ५० लाख रहेको छ भने नेटवर्थ करिब ५० करोड रहेको छ ।