काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरा ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित भएकी छिन् । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन् ।
सो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ । सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको सम्पूर्ण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो।
सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (एफटीटीएच) प्रविधि सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा उनले नेपाली घर-घरमा इन्टरनेट जडानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
सीईओ बोहराको नेतृत्वमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ । यस्तै, ५१ शाखाहरू स्थापना गरेको छ भने १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।
भायानेट कम्युनिकेशन लिमिटेडमा बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको कम्पनीले जनाएको छ।