काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङको शुल्क तोकेको छ । यसअघि महानगरले टेन्डरमार्फत दिएका पार्किङ स्थलको मात्रै शुल्क निर्धारण गरेको भए पनि अब भने महानगरले निजी क्षेत्रले सञ्चालन गरेका पार्किङ क्षेत्रको पनि शुल्क तोकेको हो । यो सँगै अब निजी क्षेत्रले सञ्चालन गरेको पार्किङहरुले महानगरले तोकेको भन्दा बढी शुल्क उठाउन नपाउने भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेन्द्र शाह (बालेन)ले अबदेखि काठमाडौं महानगरपालिकाभित्र जुनसुकै पार्किङ स्थलमा सवारी पार्किङ गरे पनि दुई पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ तिर्नुपर्ने जानकारी दिएका छन् ।
मेयर शाहका अनुसार अब काठमाडौं महानगरपालिकाभित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँमात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५÷५ रुपैयाँ शुल्क थप हुनेछ । त्यस्तै, ४ पाङग्रे सवारी साधनको हकमा आधा घण्टाका लागि ४० रुपैयाँ, एक घण्टाका लागि ७५ रुपैयाँ र एक घण्टा भन्दा बढी हुँदै गए प्रत्येक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने मेयर शाहले जनाकारी दिएका छन् ।
त्यस्तै, व्यवसायिक भवनहरुले पनि सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएका छन् । योसँगै अब महानगरभित्रका व्यवसायीक भवन (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल) अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई भने कुनै पनि पार्किङ स्थलमा पार्किङ शुल्क लाग्ने छैन । आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुने समेत महानगरले जनाएको छ ।