Skip to content
LAXMI SUNRISE BANK

‘नक्कली सर्टिफिकेटधारीलाई जोगाउन खोजेका थियौँ, टियुले सीआईबी गुहारेछ, सरप्राइज्ड भयौँ’ : प्रवक्ता, सिटिजन्स बैंक

अर्थ सरोकार

काठमाडौँ । बैंकमा नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएकाहरुमध्ये ६ जनालाई सीआईबीले सोमबार पक्राउ गर्यो । त्रिभुवन विश्वविद्यालयले सीआईबीलाई सिटिजन्स बैंकको निवेदनउपर छानविन गर्दा विभिन्न बैंकरको सर्टिफिकेट नक्कली भएको देखिन आएको भन्दै सीआईबीलाई पत्राचार गरेपछि सीआईबीले सिटिजन्स बैंकका ती कर्मचारीहरुलाई पक्राउ गरेको हो। तर यो प्रकरणमा सिटिजन्स बैंक स्वयम् नै ‘सर्प्राइज्ड’ भएको पाइएको छ । बैंकका प्रवक्ता नारायण राज अधिकारीले बैंकले त्रिभुवन विश्वविद्यालयसँग आवश्यक जानकारी मागेको तर त्रिभुवन विश्वविद्यालयले सिधै सीआईबीलाई पत्राचार गर्दा आफ्ना कर्मचारीहरु पक्राउ परेको दाबी गरेका छन् ।
प्रमोसनको समयमा सर्टिफिकेट रिभ्यु गर्दा शंका लागेपछि विभिन्न कर्मचारीहरुको सर्टिफिकेटउपर बैंकले छानविन सुरु गरेको थियो । ‘केहि कर्मचारीको सर्टिफिकेट नामै नसुनेका विश्वविद्यालयको भएको पाइयो । त्यसपछि हामीले उहाँहरुलाई त्रिभुवन विश्वविद्यालयको समकक्षता माग्यौँ । उहाँहरुले समकक्षताको सर्टिफिकेट पनि ल्याउनुभयो । तर, त्यसमा पनि शंका लागेपछि हामीले त्रिभुवन विश्वविद्यालयलाई समकक्षता सक्कली हो कि होइन भनी जानकारी माग गर्यौँ । तर टियुले त सिधै सीआईबीलाई पत्राचार गरेछ । उहाँहरुको सर्टिफिकेट नक्कली भएको सीआईबीले उहाँहरुलाई पक्राउ गरेको हो ।’
‘भनेपछि तपाईंहरु आफ्ना कर्मचारीलाई जोगाउन चाहानुहुन्थ्यो’ अर्थ सरोकारको प्रश्नमा बैंकका प्रवक्ता अधिकारीले भने, ‘उनीहरुले गल्ती गरेकै हुन् । तर, हामीले नक्कली सर्टिफिकेट भएको पाइए उनीहरुलाई बैंकबाट निकाल्ने प्लानमात्र गरेका थियौँ । तर, अव त केस फरक भयो । उनीहरुको करियरमात्र होइन, प्रतिष्ठा पनि सकियो । यो मानेमाचाहिं हामीले हाम्रा कर्मचारीहरुलाई धेरै इज्जतको क्षति नहोस् भनेर जोगाउन खोजेको पक्कै हो । तर टियुले सिधै सीआईबीलाई खबर गरेछ र हाम्रा कर्मचारीहरु पक्राउ परेछन् । यसमा हामी पनि सर्प्राइज्ड भएका छौँ ।’
सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारीलाई सिटिजन्स बैंकमा प्रमोसन गर्न लाग्दा शंका बढेपछी गरिएको अनुसन्धानमा बैंकले नचाहँदा पनि कर्मचारीहरु पक्राउ परेको पाइएको छ । अहिले पक्राउ परेका ६ जना विरुद्ध सीआईबीले अनुसन्धान गरिरहेको छ । बैंकको निवेदनउपर कारवाही गरी छानविन गर्दा दोषी ठहर भएपछि त्रिभुवन विश्वविद्यालयले सीआईबीमा १० जना कर्मचारीविरुद्ध थप अनुसन्धानका लागि भन्दै पत्राचार गरेको थियो । बैंकका १० कर्मचारीमध्ये ६ जना सीआईबीको हिरासतमा छन् भने बाँकी ४ जना फरार छन् । प्रहरीले बाँकी ४ जनालाई पनि खोजिरहेको छ ।
बुटवल शाखाकी मनीषा मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री र प्रतीक्षा रेग्मी तथा काठमाडौंका दीपक विष्ट पक्राउ परेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK