काठमाडौं । एनसेल आजियाटा लिमिटेड १८औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको हो ।
नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो ब्राण्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।
एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । यस अफरमा एष्ट्रिक्स१७११७ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै, दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्नेछन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ । यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्ने जनाएको छ ।
साथै एनसेलले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको छ । यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।
ईच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस पहलको थप जानकारी एनसेलको वेबसाइट वा इमेल [email protected] र ९८०५५५४४४० मा सम्पर्क गरी लिन सकिनेछ ।
वार्षिक उत्सवकै अवसरमा हामी तपाईंकै लागि थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ । साथै, एनसेलका सीईओको इमेल [email protected] मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ ।
‘ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,’ जाब्बोरले भने ।
हामी तपाईंकै लागि थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिने एनसेलले जनाएको छ ।