काठमाडौँ । डाक्टर कुट्नेहरुलाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सकहरुले डाक्टरमाथि भइरहेका श्रृङ्खलाबद्ध आक्रमणमा संलग्नलाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका हुन् ।
पछिल्लो समय देशका विभिन्न अस्पतालमा डिउटीमा खटिएका चिकित्सकहरुमाथि लगातार आक्रमण हुन थालेपछि डाक्टरहरु आन्दोलित बनेका छन् । खासगरी केही दिन अघि मात्रै पोखराको मणिपाल शिक्षण अस्पताल र हेटौँडा लगायतका स्थानमा चिकित्सकमाथि श्रृङ्खलाबद्द आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आकष्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकसजस्तो जिम्मेवार पेशामा लाग्नेहरुमाथि लगातार आक्रमण हुँदा पनि राज्य मुकदर्शक बनेको आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले बताएका छन् । ‘अहिले चिकित्सकहरुले आफ्नो ज्यान जोखिममा राखेर नागरिकका स्वास्थ्य जाँच गर्न सक्ने स्थिति छैन । आफैँ असुरक्षित भइरहेका बेला अरुको स्वास्थ्यको सुरक्षा कसरी गर्ने ?’, उनले भने, ‘चिकित्सकमाथि यसरी श्रृङ्खलबद्ध आक्रमण हुँदा पनि राज्य मुकदर्शक बनेको छ । यस्तो अपराधमा संलग्नलाई यथाशिघ्र कारवाही गरियोस् । जबसम्म दोषीलाई कारवाही हुँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’
त्यस्तै, आन्दोलनरत चिकित्सकहरुले उक्त विषयमा राज्यले सहमति मात्रै नगरेर दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न माग गरेका छन् ।