काठमाडौं । एनसेल आजियाटा लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
एनसेलले नर्भिक अस्पतालसँगको सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । सो स्वास्थ्य शिविरमा चार सय भन्दा बढी मानिसहरुले स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । उक्त शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग, मधुमेह रोग, ईसीजी जाँच र सामान्य स्वास्थ्य जाँच लगायतका परामर्श लिएका थिए ।
त्यस्तै, एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि स्वास्थ्य शिविरको आयोजना गरेको हो । एनसेलले आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपालीका लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।उक्त निःशुल्क स्वास्थ्य शिविर शुक्रबार बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो । कम्पनीका अनुसार स्वाथ्य शिविरमा थप जाँच गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुट दिने भएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ‘हाम्रा स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै काठमाडौँमा स्वास्थ्य शिविरको आयोजना गरेको जानकारी दिए । साथै, आफ्नो समुदायका मानिसहरुकालागि फाइदा हुने काम गर्ने र काठमाडौँ लगायत देशको विभिन्न भागमा स्वाथ्य शिविरको आयोजना गर्ने प्रतिवद्ध गरेका छन् ।’
एनसेलले ‘हामी तँपाईकै लागि’ थिम अन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा व्यावसायिक र सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल अर्थात ‘एटिन फर एटिन’ १८ का लागि १८ कार्यक्रमको घोषणासमेत गरेको छ ।