Skip to content
LAXMI SUNRISE BANK

विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, उद्यमी बन्न अभिप्रेरित गर्दै

अर्थ सरोकार

काठमाडौँ ।  विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । नेपाल राष्ट्र बैंकको सहकार्यमा भक्तपुर उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको संघको सभा हलमा सो  कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप निर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिएका थिए । उनले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ कर्जा, कर्जाको दुरुपयोग गर्दा आइपर्ने समस्या, बेस रेट र प्रिमियर रेट बारे जानकारी गराएका थिए ।

त्यस्तै, उनले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बचत तथा कर्जा कारोवारका लागि स्थापित बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत प्रकाश पारेका थिए । साथै, विधुतीय भुक्तानीको बारेमा स्पष्ट पार्दै उनले वित्तीय ठगीबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउँदै विद्यार्थीहरुलाई बिमाको बारेमा समेत स्पष्ट पारेका थिए ।नेपाल राष्ट्र बैंकसँग उद्योग वाणिज्य संघको मागमा विद्यार्थीहरुका लागि आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रम पहिलो रहेको उप निर्देशक भण्डारीले जानकारी दिएका थिए । उक्त कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघको आयोजनामा सञ्चालन भएको वित्तीय साक्षरता कार्यक्रमबाट सहभागी विद्यार्थीहरु लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

उनले यस किसिमका वित्तीय कार्यक्रम लगायत विभिन्न तालिममा सहभागी भई भविष्यमा सफल व्यवसायी तथा उद्यमी बन्न विद्यार्थीहरुलाई अभिप्रेरित गरेको जनाएका छन् । साथै, संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा भक्तपुर जिल्ला स्थित बागिश्वरी कलेजका ४२ जना, बासु कलेजका १० जना र निकोल्सन कलेजका २० जना विद्यार्थी सहभागी रहेको भक्तपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK