परासी । बाहिर खाजा घर लेखेर भित्रै नक्कली नोटको कारखाना चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । प्रहरीका अनुसार उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको छ ।
नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले बुटवलस्थित अन्नपूर्ण खाजाघरमा छापा हानेको थियो । सो खाजाघरबाट नक्कली नोट छाप्ने मेशिनसमेत प्रहरीले बरामद गरेको छ ।
बयानका क्रममा उनीहरुले व्यापार नभएपछि नोट नै नक्कली छापेको स्वीकारेका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।