काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न भएको छ । मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता पीपीए सम्पन्न भएको हो ।
उक्त आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद-विक्री गर्ने सम्झौता भएको छ । तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ । कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् ।
आयोजनाको वातावरणीय प्रभाव अध्ययन इआईए अन्तिम चरणमा रहेको र वित्तिय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्ताहरु पनि आवश्यक प्रक्रिया अघि बढाइसकेको कम्पनीका अध्यक्ष आचार्यले बताएका छन् ।
एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने आचार्यले जनाकारी दिए ।