काठमाडौँ । सेयर बजारका समयमा टिकटक र क्लब हाउसमा लाइभ गरी सेयर बजारलाई प्रभावित पार्नेहरुमाथि नियामक नेपाल धितोपत्र बोर्डले निगरानी सुरु गरेको छ । टिकटक र क्लब हाउसमा लाइभ आएर ‘फलानो सेयर किन, फलानो बेच’ भन्दै कराउनेहरुमाथि बोर्डले निगरानी सुरु गरेको हो । केहि समय यसबारे अध्ययन गरेर थप नीतिगत निर्णय लिने, र सीआईबीको सहयोग लिएर उनीहरुलाई कार्वाहीको तयारीसमेत बोर्डले गेरको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसरी सामाजिक सञ्जालको दुरुपयोग गरेर सेयर बजार प्रभावित पार्नेहरुलाई बोर्डले निगरानी गरिरहेको बताए । त्यस्तो गलत काम गर्नेहरुलाई सम्बन्धित निकायको सहयोग लिएर आवश्यक कार्वाही गर्ने तयारीमा समेत बोर्ड रहेको उनले बताए ।
‘हामीले कार्वाही गर्न मिल्नेहरुलाई हामीले कार्वाही गर्ने हो र गरिरहेका पनि छौँ । तर सामाजिक सञ्जाल र साइबर अपराधको विषय फरक विषय हो । यसमा प्रहरीको सहयोग लिन आवश्यक छ ।’ बोर्ड अध्यक्ष हमालले अर्थ सरोकारसँग भने, ‘बजार प्रभावित पार्ने वा बजारका बारेमा अनर्गल प्रचार गर्नेहरुविरुद्ध कानुनी उपचार गर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।’
बोर्ड अध्यक्ष हमालले विना आधार र प्रमाण बोर्डका जिम्मेवार अधिकारीको चरित्र हत्या गर्नेहरुविरुद्ध आफुहरुले कानुनी उपचारको तयारीसमेत गरेको बताए । ‘विना आधार र प्रमाण अरुको बोर्डमा कार्यरतहरुको चरित्र हत्या गर्नेहरुविरुद्ध पनि कानुनी उपचारमा जाँदैछौँ । यसका लागि आवश्यक तयारी गरिसकेका छौँ ।’
उनले सामाजिक सञ्जालको दुरुपयोग गरी बजारबारे भ्रम छर्ने, बजारमा कुनै अमुक कम्पनीको सेयर किन्न वा बेच्न प्रोत्साहित गर्ने काम पनि गलत भएको र यसविरुद्ध बोर्ड लागि पर्ने बताएका छन् । ‘आवश्यक निगरानी भईरहेको छ । हामी गलत काम गर्ने सम्बन्धित व्यक्तिलाई कार्वाही गरेरै छाड्छौँ । यसको विकल्प पनि छैन ।’ बोर्ड अध्यक्ष हमालले भने ।
पछिल्लो समय बजार समयमा टिकटकमा लाइभ गरी केहि व्यक्तिले गैरकानुनी रुपमा बजार प्रभावित गरेको विषयलाई लिएर बोर्डको ध्यानाकर्षण भएको बोर्ड अध्यक्षको भनाई छ।