काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु शनिवार सम्पन्न गरेको छ ।
सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २-१ ले हराउँदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २-० ले हराउँदै उपाधी जितेको छ ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दया बहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखी धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।