काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ । सो बैंकले जाजरकोटका भूकम्प पीडितको सहायताका लागि १ करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डूलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट १ करोड रुपैंया ट्रान्सफर गरेको हो ।
भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेलको उपस्थिति रहेको छ । साथै, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।