काठमाडौँ । प्रति सेयर आम्दानी बढी देखाउन अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले ‘चलाखी’ गरेको पाइएको छ । १० अर्ब ५९ करोड रुपैयाँ बराबरको पुँजीमा शतप्रतिशत हकप्रद सेयर बिक्री गरिसकेर पनि कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब ९९ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी देखाएर चलाखी गरेको हो । हकप्रद सेयर बिक्री भईसकेको अवस्थामा कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नुपर्ने हो । तर इपीएस बढी देखाउनका लागि कम्पनीले पब्लिकलाई बेचेको राइट सेयर नै कायम पूँजीमा नजोडेको पाइएको हो ।
किन गरियो यस्तो ?
यसरी हकप्रद कायम पूँजीमा नजोड्नुको मुख्य कारण भनेकै अपरको प्रतिसेयर आम्दानी (इपीएस) बढाउन हो । कम्पनीले बिक्री भएको राइटपछि कायम हुने २१ अर्ब १८ करोड पूँजीलाई कम्पनीले कमाएको १ अर्ब ७२ लाखको हिसाब गर्ने हो भने कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा हुन आउँछ । हाल यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा रहेको छ । तर कम्पनीले प्रति सेयर आम्दानी बढी देखाउन सेयर बाँडफाँट नभएको तर्क गरेर चलाखी गरेको हो ।
यसले प्रति सेयर आम्दानी मात्र हेरेर सेयर किन्नेहरु गुमराहमा पर्ने देखिएको छ । अझ खास कुरा त के हो भने कम्पनीले इपीएस पूरानै पूँजीको हिसाबमा निकाल्दा स्पष्ट रुपमा सर्वसाधारणलाई जारी गरेको हकप्रद सेयर बाँडफाँट नभएको र सो रकम वितरित भएपछि इपीएस मिलान हुन्छ भनेर लेख्नुपर्ने हो । कम्पनीले हकप्रद सेयर बाँडफाँटको तयारीमा रहेको जनाए पनि हकप्रद सेयरको बाँडफाँटपछि इपीएस समायोजन हुन्छ भनेर कतै उल्लेख नगर्दा लगानीकर्ताहरु गुमराहमा परेका हुन् ।
अधिवक्ता ज्योति दाहाल कम्पनीले स्पष्ट रुपमा सबै सूचना लेखिदिएको भए राम्रो हुने थियो भन्ने तर्क गर्छन् । ‘लगानीकर्ताले बुझ्नेगरी, हकप्रद बाँडफाँटपछि हुने समायोजनपछि इपीएसमा फरक पर्नेछ भनेर लेखिदिएको भए राम्रो हुन्थ्यो । कम्पनीले स्पष्ट रुपमा सो तथ्य नलेख्दा इपीएस बढी छ भनेर केहि लगानीकर्ता गुमराहमा पर्ने देखियो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै दाहालले भने, ‘कम्पनीले हकप्रद बाँडफाँटपछि इपीएसमा फरक पर्छ भन्ने तथ्य उल्लेख नगर्दा केहि लगानीकर्ताहरु गुमराहमा पर्नसक्ने कुरा सत्य हो ।’
यता लामो समय ‘प्राक्टिस’मा रहेका चार्टड एकाउन्टेन्टहरु पनि ‘नोट्स टु अकाउन्ट्स’ महत्वपूर्ण पक्ष रहेकोले कम्पनीले स्पष्ट रुपमा इपीएसको सम्भावित समायोजनका बारेमा नबोल्दा लगानीकर्ताहरु गुमराहमा पर्न सक्ने दाबी गर्छन् । अपर तामाकोशीले केहि समय अघिमात्र हकप्रद जारी गरेको थियो । कमजोर कम्पनीहरुलाई हकप्रदको स्वीकृति दिएको भन्दै नेपाल धितोपत्र बोर्डको आलोचना भईरहेका बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले केहि समय अगाडी सार्वजनिक रुपमै कमजोर कम्पनीले नै हकप्रद जारी गर्ने हो भन्ने अभिव्यक्ति दिएका थिए । उनले कमजोर कम्पनीले हकप्रद जारी गर्दा कम्पनीको भाउ घट्नुपर्नेमा बढिरहेकोले यस विषयमा पनि बोर्डले आवश्यक अनुसन्धान गर्ने बताएका थिए ।
यता यस विषयमा कुराकानी गर्न कम्पनीका उप निर्देशक (लेखा) सुरेश खकुरेललाई फोन गर्दा उनले फोन उठाएनन् ।













