काठमाडौँ । नेपालीहरुको दोश्रो ठुलो महान चाड तिहारले देश छपक्कै छोपेको छ यतिबेला । माता लक्ष्मीको आराधना, देउसी भैलोको रमाइलो, जताततै रमाइलो, दिदिभाई वा दाजु बहिनीको अगाध स्नेहको समय र सबैतिर रमाइलो हुने हुनाले पनि तिहारको रमाइलो बेग्लै हुन्छ । त्यसमाथि पनि देउसी, भैलो वा तिहारमा गरिने कुनै पनि खालको रमाइलोको बहानामा साथित्व, वा भातृत्वलाई थप सबल बनाउने यो महान पर्व यतिबेला हाम्रो संघारमा छ । तपाईंहरु सबैलाई शुभदिपावलीको असीम शुभकामना ।
तर हामीले रमाइलो गरेर मनाउने तिहारको बहानामा यतिबेला ठगीखान पल्किएकाहरु वा लुटिखान बानी परेकाहरु सलबलाएका छन् । तिहारको मौकामा सडेगलेका चकलेट र कुहिएका मसलाहरुलाई प्याक गरेर, राम्रो देखाएर भाई मसला भन्दै बेच्ने, तराजु नै बिगारेर फलफूल बेच्ने, देउसी खेल्न आउने नाममा घरको चियो चर्चो गर्ने र घरका विभिन्न सामान चोरी गर्ने, वा तिहारका बेला पूजा गर्न राखिएका सामान र नगद चोर्नेहरु सल्बलाएका छन् । यस्ता चोरहरुबाट हामी सतर्क रहनुपर्छ । कसैको गतिविधिमा शंका लागे प्रहरीलाई खबर गर्नुपर्छ ।
यतिबेला बाहिर हेर्दा चट्टसँग राम्रो देखाएर राख्ने तर भित्र अखाद्य, गुणस्तरहीन र मिति गुज्रिएको सामान राख्नेहरु बढेका छन् । अनुगमनका क्रममा यस्तो धेरै ठाउँमा देखिएको छ । मिति गुज्रिएको चकलेट, गुणस्तरहीन बिस्कुट र चोकोपाईजस्ता सामाग्री, खानै नमिल्नेगरी बिग्रिएका काजु र किसमिस राखेर जनता ठग्ने काम भईरहेको छ । बाहिरी बट्टामात्र राम्रो देखिने भित्र सबै खत्तम सामाग्री राखेर जनता लुट्ने काम भईरहेको छ । यसबारे हामी सचेत हुन जरुरी छ । त्यसैले पनि सकेसम्म राम्रा सामानहरु छानेर आफैंले प्याक गर्दा राम्रो हुन्छ । दाईभाईलाई तिहारमा मसला खुवाएर पखाला चल्न दिनु त भएन नि, होइन र ? भाईको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै दिईने मसलामा अल्छी नगरौं, सचेत बनौं । फेरी पनि भन्छौँ, सकेसम्म, भ्याएसम्म, अझ नभ्याए फुर्सद निकालेरै भए पनि सामान आफैंले किनेर भाई मसला प्याक गरौँ ।
यस्तै घटना धादिङमा भेटिएको छ । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको छ । बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीका अनुसार बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पुर्याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको छ ।
तिहारमा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको बाटोमा वा ठेलामा फलफूल किन्दा हो । अझ घरघरमा फलफूल बेच्न आउनेहरुसँग त चनाखो मात्र होइन महाचनाखो हुनुपर्छ । यिनीहरुलाई नियमन पनि कसैले नगर्ने हुनाले यस्ता व्यापारीमध्ये अधिकांशको ढक नै बिग्रेको हुन्छ । एक केजी भनेर किनिएको फलफूल साँचो अर्थमा एक केजी नै हुँदैन । अझ यीनीहरुले यस्तो कला जानेका हुन्छन्, जसले तपाईंलाई गुमराहमा पारेर ठ्याक्कै एक किलो छ भनेर कम सामान दिने गर्छन् । अझ तिहारको समयमा त यस्तो ठगी झन् बढी हुन्छ । पैसा तिरेर किनेपछि सामान पूरापूर त हुनैपर्यो । त्यसैले २ पैसा सस्तो भयो भन्दैमा जहाँ पायो त्यहीं फलफूल नकिन्नुहोला । सुरुमा २०० रुपैयाँ किलो भनेर पछी डेढ सयमा दिने उनीहरुको स्वीकारोक्तिमा हामी सस्तोपाना देख्छौँ, तर उनीहरुले नै हामीलाई ठगीरहेका हुन्छन् । यसमा ख्याल गरौँ ।
तिहारमा अर्को एकदम ख्याल गर्नुपर्ने विषय भनेको मिठाई पनि हो । यो बेला धेरै भन्दा धेरै मिठाइ बिक्ने र बिक्ने दिन बनाउन नभ्याइने हुनाले धेरै ठाउँमा बासी मिठाई भिडाउने गर्छन् व्यापारीहरुले । अझ कतिपय ब्रान्डेड भनिएका ठाउँहरुमासमेत यस्तो बदमासी हुने गर्दछ । धेरैलाई तिहारका बेला मिठाई ताजा हुन्छ भन्ने भ्रम हुन्छ । तर लक्ष्मी पूजाको दिन बेच्न भनेर एक हप्ता अघि देखि नै मिठाई बनाउन थालिसकेका हुन्छन् कतिपय व्यापारीहरुले । यस विषयमा पनि तपाईं हामीले ख्याल गर्नुपर्छ । ब्राण्डेड ठाउँमा मात्र मिठाई राम्रो हुन्छ भन्ने पनि तपाईं हाम्रो भ्रम नै हो । त्यसैले ख्याल गरेर मात्र मिठाई किन्नुहोला । किनकि मिठाई जाने हाम्रो शरीर भित्र हो । मिठाई बासी वा नराम्रो परेछ भने त्यसले ज्यानलाई बिरामी बनाईदिन्छ । तिहारका नाममा बिरामी हुनु त भएन नि, होइन र ?
तिहारका समयमा अर्को ख्याल गर्नुपर्ने विषय भनेको लक्ष्मीको पूजा गर्दा बालिने धुपबत्तीको हो । जथाभावी रुपमा दियो बाल्दा वा दियोले अन्य कपडा टिप्न सक्छ भन्ने थाहा नपाउँदा दियोको आगोले कोठा नै खरानी हुन सक्छ । यस्तो बिगतका तिहारमा पनि धेरै ठाउँमा भएको छ । त्यसैले दियो बाल्दा वरपर सकेसम्म कपडाहरु नराख्नुहोला । सकेसम्म बिजुलीको सकेट वरपर दियो नबाल्नुहोला । दियो वरपर तारहरु नराख्नुहोला । दियो वरपर नोट पैसा वा टपरी राख्दा विशेष ख्याल गर्नुहोला ।
तिहारमा देउसी भैलो खेल्ने भनेर घर पस्ने, घरको चियो चर्चो गर्ने र सामान चोर्नेहरु सक्रिय हुन्छन् । आफ्नो घरमा देउसी भैलो खेल्न आउनेहरुको पनि निगरानी गर्नुहोला । सकेसम्म उनीहरुसँगै बस्नुहोला । घरभेटी बसेको जस्तो पनि हुने, रमाइलो पनि हुने, कोहि गलत नियत बोकेर आएको छ भने त्यसको रेखदेख पनि हुने । अझ हुलमुलमा आएकामध्ये कोहि फटाहा नियतका हुन सक्छन्, त्यस्ता फटाहालाई पनि विशेष ख्याल गर्नुहोला । यसअघि पनि यसरी देउसी भैलो खेल्ने नाममा घरमा पस्ने र घरको पानी तान्ने मोटर चोर्ने, घरभित्रै पस्ने ठाउँ खोजेर अन्य चोरी गर्ने गरेका घटनाहरु देखिएका थिए ।
अझ तिहारमा त देउसी भैलो खेल्ने नाममा घरमा कुन सामान कहाँ छ भनेर ख्याल गर्ने र केहि दिनपछि चोर्न जाने गरेको पनि देखिएको छ यसअघिका बर्षहरुमा । त्यसैले देउसी भैलो खेल्न आउनेहरुसँग पनि सजग हुन जरुरी छ । के गर्नु देश नै यस्तै छ, समाज नै यस्तै छ, म चोर हुँ भनेर कसैले निधारमा लेखेर हिड्दैन । निगरानी त गर्नैपर्यो नि ।
देउसी भैलोका समयमा तपाईं आफ्ना छोरछोरीलाई देउसी भैलो खेल्न पठाउँदै हुनुहुन्छ भने विशेष ख्याल गर्नुहोला । तिहारमा देउसी भैलो खेल्न भनेर घरबाट निस्किने तर राती ब्वाईफ्रेन्ड वा गर्लफ्रेण्डलाई भेट्न जाने, उनीहरुसँग रातविरात घुम्न जाने, अझ कुनै होटलमा बस्ने गरेका तथ्य विगतका घटनाक्रमले पनि देखाएको छ । त्यसैले तपाईंका छोराछोरी कहाँ जान्छन्, को सँग जान्छन् ख्याल गर्नुहोला ।
जुवातास खेलेको कहिले पनि राम्रो होइन । तास सकेसम्म नखेलेकै राम्रो । तर साथीभाई मिलेर यसो रमाइलोका लागि रमाइलो गरौँ न त भन्दा पनि समूहमा त्यस्तो फटाहा भेटिइहाल्छ, जो उसले जित्नुन्जेल मुसुमुसु हांसीरहन्छ, पैसा सोहोरीरहन्छ । तर. उसले हार्न थाल्यो भने अनेक बखेडा झिकिदिन्छ, अनावश्यक डिसकसमा उत्रन्छ । अझ त्यसमाथि थोरै दारुपानी चढाएको रहेछ भने त हारेपछि प्रहरीलाई फोन गरिदिन्छ । प्रहरीलाई फोन गरेपछि प्रहरी जानै पर्यो । के गर्नु हाम्रो देशनै यस्तो छ, बार्षिक करोडौं रुपैयाँको तास आयात गर्न दिन्छ, त्यहि तासमा कर उठाउँछ तर तास खेल्न मिल्दैन भन्छ । यसरी साथी भाई केहि समय रमाइलो गरौँ भनेर लागेको ठाउँमा पनि यस्ता मण्डलेहरु मिसिंदा खेलमात्र नरमाइलो हुन्न, पूरै तिहार नै झुर हुन्छ । त्यसैले सकेसम्म तास नाखेल्नू, खेलेपनि साथी चिन्नु ।
तिहारमा बाहिर रोडतिर हिड्दा पनि ख्याल गर्नुपर्छ । तासमा हारेर रन्थनिएर हिंडेकाहरु चोरी गर्न लालायित हुन्छन् । अझ रक्सीको नसामा उनीहरु अरुको पैसा चोर्न पनि पछि पर्दैनन् । यस्ता मान्छेहरुबाट जोगिनुपर्छ । चाडबाडका नाममा रक्सी खाएर गाडी कुदाउनेहरुबाट त झन् होसियार हुनुपर्छ । आफुले गल्ती नगरे पनि यस्ता फटाहाहरुले गरेको गल्तीका कारण तपाईंको ज्यान जोखिममा हुन सक्छ ।
अन्त्यमा, सबैको तिहार रमाइलो बनोस्, तिहारले खुसी नै खुसी देओस्, शुभकामना । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्