×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट, सात महिनादेखि खाद्यान्न कारोबार बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट, सात महिनादेखि खाद्यान्न कारोबार बन्द

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सिमकोट । कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् । व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको सङ्केत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताउनुभयो । वडाध्यक्ष पाल्जोर तामाङका नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ ।
स्थानीय बासिन्दासहित सिमकोट आइपुग्नुभएका वडाध्यक्ष तामाङले भन्नुभयो, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’वडा नं ६ लिमीसहित नाम्खा गाउँपालिकाभरिका नागरिकले चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति गर्दै आए पनि यस पटक विश्वभर फैलिएको कोरोनाका कारण सात महिनादेखि हुम्लासँगको हिल्सा र लाप्चा नाका बन्द हुँदा यस क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो । वडा नं ६ लिमीका तिल, जाङ र हल्जीमा १८० परिवार बसोबास गर्दै आएका छन् । 
लिमी जिल्लाकै अग्लो क्षेत्रमा अवस्थित रहेकाले जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । यहाँका बासिन्दाले फापर र आलु पनि उत्पादन गरे पनि बढीमा ६ महिना मात्र धान्ने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । स्थानीय उत्पादनले नपुग्ने भएका कारण स्थानीयवासीले चीनका व्यापारीको भर पर्नुपर्ने अवस्था छ । अब हिउँ पर्ने समय शुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीयवासी छिरिङमुटुप तामाङले बताउनुभयो । 
उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरदेखि हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गर्छ । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै सदरमुकाम सिमकोट आइपुगेको तामाङ्गले बताउनुभयो । लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । 
सरकारले दिएको अनुदानको चामल ३० केजीको रु दुई हजार तथा ढुवानी प्रतिबोरा रु पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाङ र हल्जी गाउँमा पुर्याउन प्रतिकेजी रु १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ । लिमीमा भएको खाद्य सङ्कटका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । यता नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड हुम्लाले सिमकोट शाखाबाट तत्कालका लागि एक हजार क्विन्टल चामल उपलब्ध गराउने भएको कम्पनी हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । नाम्खा गाउँपालिकाका लागि आएको गत वर्षको एक हजार क्विन्टल चामल सिमकोटमा रोकिएकाले त्यो पनि पठाउने तयारी भहिरहेको जनाइएको छ ।-रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी