काठमाडौँ । सरकारी कर्मचारी बनेर ब्राण्डेड रक्सी चोर्ने एकजना पक्राउ परेका छन् । रक्सी किनेर फोन पेबाट पैसा तिरेको भन्दै पसलेलाई झुक्याएर चोरी गर्ने धरान– १९ का विकास शाह पक्राउ परेका हुन् ।
आफूलाई पर्यटन बोर्डको शाखा अधिकृत बताउने उनको साथबाट प्रहरीले पर्यटन बोर्डको परिचय पत्रसमेत फेला पारेको छ । प्रहरीका अनुसार उनले आफूलाई रुटिन अफ धरान बन्द पेजको रिपोर्टर भएको पनि बताउँदै आएका थिए । उनको साथबाट उक्त पेजको रिपोर्टरको परिचय पत्र पनि बरामद गरिएको छ ।
पक्राउ परेका शाहले धरानका विभिन्न मदिरा पसलबाट फोन पेबाट पैसा तिरेको भन्दै झुक्याएर ब्राण्डेड रक्सी चोरी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार सँधै कारमा हिँड्ने उनले सुरुमा मदिरा पसलमा महँगो रक्सी खरिद गर्थे र रकम भुक्तानीका लागि क्यूआर कोर्ड माग्थे । त्यसपछि उनले पसलेलाई फोन पेबाट भुक्तानी गरेको ‘स्क्रिन सट’ दखाउँथे । तर, उनले फोन पे मार्फत जम्मा गरेको रकम व्यवसायीको खातामा भने जम्मा हुँदैन थियो ।
शाहले भुक्तानी गरेको रकम व्यवसायीको खातामा किन जाँदैन थियो भन्ने विषयमा भने थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । यता व्यवसायीहरुले भने शाहले सिस्टम ह्याक गरेर रकम भुक्तानी गरेको आरोप लगाएका छन् ।
हालसम्म शाहविरुद्ध ११ जना पीडितहरुले प्रहरीको सम्पर्कमा आएका छन् । ११ जना पीडितहरुका अनुसार शाहले विभिन्न पसलमा गरी ५० हजार रुपैयाँ बराबरको ठगी गरेको पाइएको छ । उजुरी दिने पीडितको संख्या बढे ठगीको रकम पनि बढ्ने प्रहरीको भनाई छ । हाल एकपटकका लागि छोड्ने कि भन्ने विषयमा पीडितहरुबीच सल्लाह भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाहविरुद्ध उजुरी परे मुद्दा दर्ता गरेर कार्वाही गरिने प्रहरीले जनाएको छ ।