काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला तामाकोशी लिखु गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ मैपी बस्ने २६ वर्षीय पोसाक सुनुवार रहेका छन्।
उनले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गरेका थिए । सुनुवारले गुरुङलाई माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक एक लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेका थिए । उनले पीडितबाट पटक पटक गरी ३ लाख ३० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मङ्सिर ३० गते मैपीबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनुवारलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।