काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपा,काभ्रेपलान्चोकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । मानविय सहायता अन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडीतहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
२०८० पौष १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बागचौर शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी २०८० पौष १५ गते रुकुम पश्चिमको आठविसकोट नगरपाकिालाई ४ लाख सहयोग गरेको छ । आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोही दिन सदरमुक्काम स्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७ लाख ५६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
दुई अलग अलग कार्यक्रमकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, स्थानिय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, वित्तीय संस्थाका कर्मचारीहरु, सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र नेशनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए ।
लघुवित्त विपन्न तथा गरिव समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उनीहरुको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको वताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका विपन्न गरिब परिवारमा वित्तीय सेवा पुर्याउन आग्रह समेत गरे ।
सोही अवसरमा नेशनल लघुवित्तका सिइओ राम बहादुर यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेको थिए । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रको माध्यमबाट गरिबी न्यूनिकरणमा टेवा पुर्याउने सिइओ यादवले बताए ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायता गर्दै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरुबीच वित्तीय कारोबार संचालन गरिरहेको छ ।