काठमाडौँ । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ ।’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भने, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।’
गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताए । ‘गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ’, उनले भने । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यसवर्ष भाउ बढेको पाण्डेले बताएका छन् । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।
सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हराएको छैन’, उनले भने । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताएका छन् ।
जिल्लामा यसवर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ ।
कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आर्थिक वर्षमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । ‘गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो ।’, उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’ गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताएका छन् ।
दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो ।
रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन् । प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो । किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन् । अहिले छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ । अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्