काठमाडौं । नाडाका प्रतिनिधी र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डल र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।
खासगरी नेपालको मालवाहक सवारी साधनहरुको विक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै भारतिय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र संचालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।
यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतबीच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनाधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्सको आयात हुँदै आएको । यसले एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती बस्तुहरुको अनाधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफ्नो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुँदै गईरहेकोले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गरेका छन् । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराए ।
छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन् । उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।