काठमाडौँ । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताएका छन् ।
बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो ।
तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन बैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र त्यसका लागि आवश्यक लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित उपसमितिलाई तयारीलाई तिब्रता दिन आग्रह गरे ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न महतले निर्देशन दिएका छन् । ‘लगानीकर्तालाई यो वा त्यो नाममा कन्डिसन नराख्ने बताएका उनले युएईको कर होलिडे जस्तै माहोल नेपालमा बनाउन सक्नुपर्छ ।’, उनले भने, ‘त्यस्तै, किसिमको माहोल हामीले नेपालमा बनाउन सक्छौँ । अहिले अन्तर्राष्ट्रिय आकर्षण पनि बढेको अवस्थालाई हामीले ग्राब गर्नुपर्छ ।’
सम्मेलनलाई लिएर विदेशीलाई मात्र नभई आन्तरिक निजी लगानीकर्तालाई पनि उत्साहित गर्नेगरी आफूहरुले आवश्यक कानून परिमार्जनलाई तिब्रता दिने मन्त्री महतको भनाई छ । लगानी सम्मेलनलाई सफल र उपलब्धीपूर्ण बनाउन सरकार लागेको बताएका उनले सरकारले तयारी गर्न छाति फराकिलो बनाउने बताए । बाह्य लगानीसँगै आन्तरिक लगानीको वातावरण बनाउनेमा अर्थमन्त्रीले जोड दिएका छन् ।