काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । हालै प्राथमिक सेयर (आईपीओ) जारी गरेको हिमालयन रिले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । सेयरधनीलाई बोनस सेयर वितरणको घोषणा प्रश्चात कम्पनीले चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्न फागुन २० गतेका लागि साधारण सभा आह्वान गरेको छ । कम्पनीले आह्वान गरेको सभा राष्ट्रिय सभा गृह, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै कम्पनीले घोषणा गरेको ४ प्रतिशत बोनस सेयर पाउनेछन् ।