काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफू अर्थमन्त्री भएको ११ महिनामा बिग्रिएको अर्थतन्त्र सुधारेको दाबी ग्रेका छन् । काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री डा.महतले यस्तो दाबी गरेका हुन् । उनले सरकारमा चैतमा अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको वाह्य क्षेत्रलगायतको सुधार गरेको दाबी गरेका छन् ।
अर्थमन्त्री महतले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा भएपनि कार्यभार सम्हालेको ११ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक बनाउन सफल भएको उल्लेख गरे । अर्थमन्त्री डा. महतले पर्यटक आगमन, होटल र रेस्टुरेण्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको जानकारी दिएका छन् ।
त्यस्तै, उनले नेपालमा रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा र शेयर बजार कारोबार वृद्धि हुँदै गएको र सार्वजनिक खर्च बढ्दो क्रमा रहेको उल्लेख गरेका छन् ।
योसँगै आगामी दिनमा सरकारको पूँजीगत खर्च वृद्धि हुने विश्वास अर्थमन्त्रीको छ । उनले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । सरकारको बजेट प्रणाली र बजेट विनियोजन भन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको रहेका आयोजनालाई रोक्ने काम गरेको पनि अर्थमन्त्री महतले बताएका छन् ।
यस्तै, अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा वित्तीय साधनको परिचालन गरिने जानकारी दिएका छन् । नेपालमा सम्भावनाको रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधि उद्योगमा आन्तरिक र बाह्य लगानी परिचालन गर्ने अर्थमन्त्रीको भनाई छ । उनले निजी क्षेत्रलाई उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिको संवाहकको रुपमा विकास गरी यस क्षेत्रको नेतृत्वदायी भुमिकालाई प्रोत्साहन गर्ने बताएका छन् ।