काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति बिनोद चौधरीसँग सोधपुछ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशनबारे चौधरी अनविज्ञ रहेको पाइएको छ । बाँसबारीको दश रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा गृहमन्त्रीले दिएको निर्देशनबारे चौधरी अनभिज्ञ रहेको पाइएको हो ।
सांसद चौधरीको निजी सचिवालयले पनि सोधपुछ गर्न भन्दै गृहमन्त्रीले दिएको निर्देशनबारे समाचारमार्फत मात्रै थाहा पाएको जनाएको छ ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउन गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।
‘उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको दश रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिनुभएको छ ।’, गृहमन्त्री लामिछानेको सचिवालयले भन्यो, ‘त्यसका लागि सांसद बिनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने भएको छ ।’