×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

Artha Sarokar

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले इलामका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ।

किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ ।

इलामको फाकफोकथुम गाउँपालिका-४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन (४० किलो) रू आठ हजारका दरले एक सय ५० मन बेचेका थिए ।

‘गत वर्ष अदुवाको मूल्य राम्रो पाइयो, त्यसैले आम्दानी पनि मनग्य भयो’, उनले भने, ‘अदुवाको बजार र माग प्रशस्त भएकाले बिक्री गर्न समस्या छैन ।’ उनले गत वर्ष १० रोपनी जमिनमा अदुवाखेती गर्दा दुई सय १० मन उत्पादन भएको जानकारी दिए ।

करिब ६० मन बीउका लागि राखेर एक सय ५० मन बिक्री गरेको लिम्बूले बताए । यस वर्ष पनि खेती विस्तार गरेकाले उत्पादन पनि वृद्धि भएको उनको भनाइ छ । पन्ध्र रोपनीमा ६० मन बीउ रोप्दा करिब तीन सय ५० मन उत्पादन भएको उनले बताए ।

‘यस वर्ष तीन सय ५० मन उत्पादन भएको छ । अहिलेसम्म बिक्री भने गरेको छैन’, लिम्बूले भने, ‘अझ भाउ बढ्ने आशामा नबेची राखेको छु, गत वर्षकै भाउ चल्यो भने रू २८ लाख हाराहारी आम्दानी हुनेछ ।’

उनले अदुवा बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्चका साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको बताए । ‘पाँचजना परिवारको घरखर्च र छोराछोरीको पढाइ यहीँ अदुवाखेतीले धानेको छ’, उनले भने ।

त्यस्तै, फुएतप्पाकै किसान रामु गिरीले अदुवाखेतीबाट वार्षिक रू १२ लाख आम्दानी गर्दै आएको बताएका छन् । एक सय ५० देखि दुई सय मनसम्म अदुवा उत्पादन गर्दै आएका गिरीले पछिल्लो समय भाउ राम्रो आएकाले आम्दानी बढेको बताए । ‘विगत तीन वर्षयता अदुवाले भाउ राम्रै पाइरहेको छ,’ उनले भने, ‘यही भाउ स्थिर रहिरहने हो भने किसानको आम्दानीको मुख्य स्रोत अदुवा बन्न सक्छ ।’

माउ अदुवाको मुख्य उत्पादन कात्तिकको पहिलो सातादेखि सुरु हुन्छ । मुख्य उत्पादनको बिक्री जेठसम्म हुने गर्दछ । जिल्लाको व्यापारिक केन्द्रहरु इलामसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, फिक्कल, पशुपतिनगर, तीनघरे, बोल्बुङ, हर्कटे, दानाबारीलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा गरिने अदुवाखेती इलामका प्रायः सबै पालिकाका किसानले गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समुद्र समतबाट नौ सयबाट एक हजार पाँच सय मिटरसम्म अदुवाखेती गर्न उपयुक्त मानिने केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले बताए । उनका अनुसार यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्ने गरेका छन् ।

इलाममा तीन हजार दुई सय २५ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रसँग तथ्याङ्क छ ।

मसलाका रुपमा प्रयोगमा आउने यसको खपत पूर्णरुपमा भारतीय बजारमा हुने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पश्चिम बङ्गालको नकसल पुर्याएर  व्यापारीहरुले अदुवा बेच्ने गरेका छन् । अदुवाको मूल्य बढेसँगै गाउँगाउँमा पुगेर किन्ने व्यापारी बढेका छन् । ती साना व्यापारीहरुले गाउँमा नै गएर किनेको अदुवा जिल्लाको ठूला व्यापारीमार्फत झापाको धुलाबारी पु¥याएर बेच्ने गरेका किसान बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी