काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आगलागी पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो ।
कम्पनीले मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरूलाई प्रत्येक घर एक थान साडी वितरण गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सो सामग्री हस्तान्तरण गरेको हो ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कार्यक्रममा बोल्दै कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे । वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको जानकारी दिएका छन् । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत उनी बताउँछन् ।
कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस भीषण आगलागीबाट प्रभावित भएका १ सय ५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो ।