काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि विद्युत नियमन आयोगले पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३ सय ५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।
प्राथमिक सेयर निष्कासन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढिसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एसविआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेवा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
कुमारी बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक सँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । त्यस्तै, आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहेको छ ।
यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका सेयर धनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेको भनाइ छ ।
आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनबाट नेविप्राको समुन्द्रटार सबस्टेशन जडान गरि काठमाण्डौको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्याधुनिक मसिन जडान गरिनेछ ।