काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा छानबिन समिति घोषणा गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको माग अनुसार छानबिन समिति घोषणा गर्ने तयारी गरिएको हो ।
तर, प्रतिनिधिसभाको बैठकमा कुनै व्यक्तिको नाम तोकेर नभई विषय मात्र उल्लेख गरेर संसदीय छानबिन समिति घोषणा गरिने बुझिएको छ । उक्त विषयमा शीर्ष नेतृत्व तहमा छलफलसमेत भएको छ ।
सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच बिहान यसै विषयमा छलफल भएको थियो । सभामुख देवराज घिमिरेले पनि नेताहरु र प्रमुख सचेतकहरुसँग यही विषयमा केन्द्रित रहेर संसदको अवरोध खोल्न छलफल गरेका थिए ।
प्रधानमन्त्री दाहालले नेताहरुसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दललाई समिति गठन गर्ने सम्भावना रहेको भनेर जानकारी दिएका छन् । तर, अपरान्ह चार बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न दिने र अवरोध नगर्ने, त्यसपछि छानविन समितिको टुंगो लगाउने बताएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षी दल र न्यायालय लक्षित तीखो आलोचनाले सहमतिको वातावरणमा नकारात्मक असर परेको प्रधानमन्त्री निकट सूत्रले बताएको छ । एमाले संसदीय दलको बैठकमा ओलीले बुधबार नेपाली कांग्रेस र सर्वोच्च अदालतको नामै लिएर कडा टिप्पणी गरेका थिए । उनको त्यो अभिव्यक्तिले प्रधानमन्त्री दाहाल नै अप्ठेरोमा परेको बताईएको छ । प्रमुख प्रतिपक्षले अहिलेसम्म आफ्नो अडानमा हेरफेर गरेको छैन । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले आफ्नो पार्टीका अडान यथावत नै रहेको बताएका छन् ।
सहकारीको बचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएको छ ।