- अर्थ सरोकार सम्बाददता
काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स हिमालयन रि इन्स्योरेन्सले पाएको छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थ मन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । जससंगै अब उक्त कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताका लागि प्रक्रिया अघि बढाउन पाउनेछ ।
यता बीमा समितले पुनर्बीमा कम्पनीले नयाँ लाइसेन्सको लागि बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म प्रस्तावपत्र आह्वान गरेको थियो । सोहि अनुसार समितिमा ५ वटा कम्पनीले आवेदन दिएका थिए । प्रस्ताव बुझाएको २ हप्ता नबित्दै कम्पनीले लाइसेन्स पाएको हो । हिमालयन रि इन्स्योरेन्समा अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ ।
यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतको लगानी रहेको छ । अब नेपालमा पुनर्बिमाको सेवा दिने कम्पनीको संख्या २ पुगेको छ । यसअघि नेपाल पुनर्बिमा कम्पनीले सेवा दिइरहेको थियो ।