- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४ औं वर्षमा प्रवेश गरेको छ । नियामक निकाय बीमा समितिले २०६४ चैत १८ गते आजीवन, सावधिक र म्यादी जीवन बीमा कारोबार गर्न इजाजत प्रदान गरेको भएपनि कम्पनीले वि.स. २०६५ जेठ १७ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो । जस अनुसार आजबाट १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको हो ।
यस अवधिसम्म आउँदा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ जम्मा रहेको छ । यस्तै कम्पनीको जीवन बीमा कोष १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म ३ पटक हकप्रद सेयर जारी गरिसकेको छ भने ५ पटक बोनस सेयर तथा नगद लाभांश वितरण गरेको छ । अहिले नेपालमा २० वटा जीवन बीमा कम्पनीले सेवा दिइरहेका छन् ।