Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरुलाई बहुआयामिक प्रशिक्षण प्रदान, सन्तुलित जीवन प्रवर्द्धन गर्ने उद्देश्य 

अर्थ सरोकार

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ। इन्स्योरेन्सले यही असार २, ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वास्थ्य र सन्तुलित जीवन प्रवर्द्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको हो ।

यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरूको व्यक्तिगत एवम् व्यवसायीक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यवसायीकतामा वृद्धि हुने र कर्मचारीहरूलाई स्वास्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक निभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हुन्, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ । साथै कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्युत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आर्ट अफ लिभिङसँग यस्ता कार्यक्रमहरू सम्बन्धी चालीस वर्षभन्दा बढी समयावधिको सफल अनुभव रहेको र विश्वभरका लगभग १८६ देशहरूमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरू विश्व स्वास्थ्य संगठनको वेलनेश मोडेलसँग मेल खाने हिसाबले तयार गरिएको छ । 

उक्त कार्यक्रमबाट सहभागीहरूलाई रोग र तनावमुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिने साथै कर्मचारीहरूमा उनीहरूको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सुधारहरू हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK