काठमाडौं। विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउले उद्देश्यले र्यापिड रेस्पोन्स टोली परिचालन गरेको एनसेलले जनाएको छ ।
मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैँ अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।
हावाहुरी र भारी वर्षाले असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावरमा असर गरेपनि यो टिमले तत्कालै काम गरेकाले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः सञ्चालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण उक्त दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइबर ब्रेक भएको, रूखहरू र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपुर्तिमा समेत असर परेको थियो ।
आरआरटीलाई विशेष गरि आपतकालीन अवस्था सम्हाल्दै अवरुद्ध हुने सेवा तत्कालै सुचारु गर्ने विषयमा तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले आरआरटीहरु गठन गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी एनसेलले विपद् पूर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेलले प्रतिबद्धता जनाएको छ ।
विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरि एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।
एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनरेटर र सेल अन ह्विल पनि तयार गरेको छ । त्यसैगरी धेरै सेवाग्राही भएका ठाउँहरू र बाढीले असर गर्नसक्ने ठाउँहरूलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरू गरेको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।
विभागको टोलफ्री सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।