काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगी बिनोद चौधरीले सेयर बजारलाई नयाँ उचाइमा पुर्याउने मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले बजारको सुस्ततालाई बजारलाई फेरी एकपटक नयाँ उचाइमा लैजान सक्ने मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् ।
उनले सुस्ताएको बजारलाई चलायमान बनाउनुपर्ने सबै लगानीकर्ताको चाहना भएको भन्दै यसतर्फ राष्ट्र बैंकले ध्यान दिन चौधरीले आग्रह गरेका छन् ।
सांसद चौधरीले पुँजीबजारमा सुधार हुने आशा र विश्वास लगानीकर्तामा गुम्दै गएको पनि उल्लेख गरेका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्ध राम्रो नभएसम्म र जिम्मेवारी बोध नभएसम्म अहिलेको अवस्था कायम रहने बताएका छन् ।
त्यस्तै, सांसद चौधरीले बजेट भाषण गर्दा पूर्वअर्थमन्त्रीले मौद्रिक नीतिले सम्बोधन गर्नेबारे स्पष्ट बोलेको भन्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचमा समन्वय र मजबुत तालमेल गर्न नसके दुर्घटना हुने निश्चित रहेको दाबी गरेका छन् । साथै उनले पूँजीबजार सुधार गरी समग्र अर्थतन्त्र सुधार गर्ने ठिक समय आएको पनि उल्लेख गरेका छन् ।
‘अहिले समय ठिक ठाउँमा छ । नयाँ सरकार बद्लिएको अवस्था छ । नयाँ मौद्रिक नीति आइरहेको छ । मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने, माग वृद्धि गर्ने र जनताको हातमा पैसा पुग्ने हुनु आवश्यक छ ।’, सांसद चौधरीले भने, ‘मौद्रिक नीतिले अर्थतन्त्रलाई सबल बनाउने, लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्यमीलाई सम्बोधन गर्ने गर्नुपर्छ ।’