काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ । बैंकले एसबी सोलुसन्सको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याएको हो ।
सो प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस.बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्राले हस्ताक्षर गरेका छन् ।
यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटलाइज गर्न मद्दत गर्ने छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन् ।
साथै, ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्वीकृति प्रक्रियामा सहयोग हुने बैंकले जनाएको छ ।
एसबी सोलुसन्स प्रा.लि. फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटलाइजेसन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, बिक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ ।
हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एस.बी. सोलुसन्स प्रा.लि. द्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।