काठमाडौँ । मर्जरपछि कर्मचारीमा विभेदपूर्ण व्यवहार गरेको भन्दै नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीले तालाबन्दी गरेका छन् । नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरपश्चात् कर्मचारीलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मर्जरपश्चात् कर्मचारी व्यवस्थापनका नाममा मिर्मिरेका कर्मचारीको पद नै घटुवा गरेपछि कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले कनिष्ठ सहायक ‘ख’ पदमा कार्यरत कर्मचारीलाई केन्द्र व्यवस्थापकमा रूपान्तरण गरेको भन्दै आपत्ति जनाएका छन् ।
साबिकको मिर्मिरे लघुवित्तले कनिष्ठ सहायक ‘ख’ पदमा १ सय ६१ जना कर्मचारी नियुक्त गरेको थियो । तर, मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तले ती सबै कनिष्ठ सहायक ‘ख’ पदका कर्मचारीलाई केन्द्र व्यवस्थापकको जिम्मेवारी दिएको थियो । मर्जरपश्चात् मिर्मिरेका कर्मचारीमाथि विभेदपूर्ण व्यवहार गरेर पद नै घटुवा गरेको भन्दै रुष्ट बनेका कर्मचारीहरुले देशभरका विभिन्न शाखामा तालाबन्दी नै गरेका छन् ।
यसो त आन्दोलनरत १८ जना कर्मचारीहरुले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायक पदमा बढुवा गर्नुपर्ने माग राख्दै असार २० गते संस्थाको केन्द्रीय कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका थिए । तर, आफूहरुको मागप्रति संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको केन्द्र व्यवस्थापक पदमा रहेका कर्मचारीहरुले बताएका छन् ।
‘मर्जरपछि हाम्रो पद बढुवा होला भन्दा झन् घटुवा गरिएको छ । कनिष्ठ सहायक ‘ख’ बाट केन्द्र व्यवस्थापकको जिम्मेवारी दिइँदा काम गर्ने मनोबलसमेत घटेको छ ।’, लघुवित्तका एक कर्मचारीले भने, ‘केन्द्र व्यवस्थापक कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जाको रहेको भान भएपछि हामीले संस्थाको व्यवस्थापन पक्षलाई ध्यानाकर्षण गराएका थियौँ । तर हाम्रा मागको सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेका हौँ । अझै पनि माग सम्बोधन नभए आन्दोलन थप चर्किन्छ ।’
उनीहरुले माग पूरा नभएर हातमा कालोपट्टी बाँधेर ‘पेन डाउन’ गर्नेसमेत चेतावनीसमेत दिएका छन् ।