काठमाडौँ । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको ‘माइन्ड अर्लट’ हुन नसकेको पनि उनको अनुमान छ ।
जहाजमा समस्या आउनेबित्तिकै क्याप्टेन शाक्यको ‘माइन्ड’ अर्लट हुनुपर्ने गुरुङले बताए । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गर्नुपर्ने उनले अनुभव सुनाए ।
‘जहाज सि-चेकका लागि जाँदै थियो । चेक पनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरकफरक हुन्छ । तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि-वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ ।’, उनले भने, ‘त्यसपछिको अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिन फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’
त्यस्तै, उनले भि-वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको अनुमान लगाए । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिएपनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताएका छन् ।
घटनाको यथार्थताका बारेमा सबैलाई थाहा नहुने भन्दै दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन शाक्लाई थाहा हुनसक्ने गुरुङले बताएका छन् । ‘यो घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनकी विगतका कयौँ दुर्घटनाहरुमा हामीले बोलेका पनि छौँ । तर सबै सत्य सावित नहुन सक्छन् ।’, उनले थपे, ‘इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन । यस बारेमा क्याप्टेन शाक्य जीवित हुनुहुन्छ । उहाँले सबै कुरा बनाउनुहुनेछ ।’
त्यस्तै, क्याप्टेन गुरुङले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गरे । साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने पनि उल्लेख गरेका छन् ।