काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धी सम्झौता भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच उक्त तालिमसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कम्पनीतर्फबाट कम्पनी सचिव रामशरण तिमल्सिना र बिफक्याप नेपालको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार विभिन्न बैंक तथा वित्तीय क्षेत्रका मानव श्रोतलाई कृषिमा आधारित उद्यम-व्यवसायको प्राविधिक ज्ञान प्रवाह, सीप अभिवृद्धि, पाठ्यक्रमको योजना बनाउने, स्रोतसाधनको व्यवस्था गर्ने, कृषि मूल्य शृङ्खला व्यवस्थापन, कार्बन खेती र त्यस क्षेत्रसँग जोडिएको लगानीको विषय, दिगो बैंकिङ र ग्रिन बैंकिङसँग सम्बन्धित तालिम तथा सेमिनारहरु आयोजना गर्नेछ ।
त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले कृषि क्षेत्रका थुप्रै विषयमा प्रशिक्षणसमेत गर्न पाउने जानकारी उक्त सम्झौतामा उल्लेख छ । कृषिमा दीर्घकालीन योजनाका साथ अघि बढ्नको लागि आवश्यक प्राविधिक सहयोग तथा रिर्सच जस्ता क्षेत्रमा एक साथ काम गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।