काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि अघिल्लो बुलमा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।
बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा युनाईटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यसैगरी आज सिभिल बैंक डेबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।