काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी भाषा सिकाउने र विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सीहरु उत्साहित बनेका छन् । खासगरी ‘प्लस टु’ सकेर अधिकांश विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने भएकाले पनि नयाँ विद्यार्थी पाइने भएपछि कन्सल्टेन्सीहरु उत्साहित बनेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै अधिकांश कन्सल्टेन्सीहरुले आफ्नो कन्सल्टेन्सीको विज्ञापनमा एग्रेसिभ खर्च गर्न थालेका छन् भने विद्यार्थीहरु पनि राम्रो कन्सल्टेन्सीको खोजीमा लागेका छन् ।
यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी भएका ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरुमध्ये ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी फेल भएका छन् ।