काठमाडौँ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले १३.४० प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरुको नाफा बढेको हो ।
बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकी वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ बैंकको वितरणयोग्य मुनाफा घटेको छ । यसअवधिमा चार बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुमा कर्जा असुलीमा पनि समस्या देखिएको छ । गत आर्थिक वर्षमा १० वाणिज्य बैंकको नाफा घटेको छ । कर्जा असुली अपेक्षित नहुँदा अधिकांश बैंकको खराब कर्जा बढेको छ भने खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेसँगै ती बैंकहरुको नाफामा समेत दबाब परेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको खुद नाफा बढेको छ भने एनएमबी बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंंकको नाफा घटेको छ ।
गत आर्थि वर्षमा सबैभन्दा धेरै वितरणयोग्य मुनाफा नबिल बैंकको छ । समीक्षा अवधिमा नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.०३ प्रतिशत बढी हो । धेरै वितरणयोग्य नाफा हुनेमा एभरेष्ट बैंक दोस्रो स्थानमा छ । एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् । यसअवधिमा ३ देखि ४ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या ७ छ भने २ देखि ३ प्रतिशतको बीचमा रहेका बैंकको संख्या ३ रहेको छ ।