काठमाडौँ । नेप्सेमा धेरैपछि भीषण पहिरो गएको छ । केहिले यसलाई लामो बढोत्तरीपछिको अलि ठुलो करेक्सन र स्वाभाविक भनेका छन् भने केहीले नेताहरुले सेयर बजारबारे गरेको टिप्पणीपछि लगानीकर्ता आत्तिंदा आएको अस्वाभाविक गिरावट भनेका छन् । हुन पनि बजारमा दर्जन बढी कम्पनीमा नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ । अझ ठूला खेलाडी भनिएकाहरुले नै अव बजार करेक्सनतर्फ गयो भनेर नेतालाई दोष दिएपछि बजारमा सेन्टिमेन्ट कमजोर जरुर भएको छ ।
हुन त बजारमा बजार जसरी पनि घटाउन लागि परेका, जसरी पनि बढाउन लागिपरेकाहरुको जुहारी चलिरहेको छ । बजार घटाउन लागि परेकाहरुले नेताहरुले दिएको नकारात्मक टिप्पणीलाई बढी बुष्ट गरेर रोइलो गरिरहेका छन् भने बजार बढाउन लागि परेकाहरुले यो सामान्य गिरावट हो, भोलि बजार फर्किहाल्छ भन्दै प्रचारबाजी गरिरहेका छन् । अनि बजारमा एकाथरी यस्ता पनि छन्, जसले केही कम्पनीको स्टक टुप्पोमा किनेका छन्, अनि बजार घट्न थालेपछी दिउँसै बजार धेरै घट्दैन, अझै किन्नुस् कि किन्नुस् भनेर उचालिरहेका छन् । बजारमा यस्ता लगानीकर्ता पनि छन्, जसले हिजै बेचेर भ्याइसके, कतिले आज बेचे अनि अव बजार सिद्धियो बेच्नुस् कि बेच्नुस् भनेर रोइलो गरिरहेका छन् । तर लगानीकर्ताले ख्याल गर्नुपर्ने कुराचाहिँ यस्तो बेला किन्ने कि बेच्ने भन्दा पनि अनावश्यक रोइलोबाट बच्नुपर्ने देखिन्छ । किनकि मंगलबार बजारमा सुटुक्क सेयर बेच्ने अनि नेताले सिद्ध्याए भनेर कराउनेहरु तिनै हुन्, जो भोलि फेरी बजार बढ्न थालेपछी हाम्रो सेयर खोसे, हाम्रो सेयर लुटे भनेर रुवाबासी गर्नेछन् । सेयर बजारमा यस्ता रोइलो सामान्य हुन् । अरुले भनेकै भरमा सेयर किन्नेहरुले यस्तै रोइलो गरिगरी पैसा सिध्याउने हुन् । भलै, मंगबारको बजार सोमबार केही सांसदहरुले दिएको बजारबारे नकारात्मक अभिव्यक्तिले पक्कै प्रभावित बनेको हो ।
अव कुरा गरौँ बजार अत्याउने गरी सांसदले बोलेका कुराहरुतर्फ
कुनैबेला संसद्मा सेयर बजारबारे बोल्ने कोही थियो भने उनी मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल हुन्थे । हुन त सेयर बजारबारे ढकालजतिका जानकार अरु छैनन् पनि संसद्मा । तर बजार बुलिस लयमा लागिरहँदा सेयर बजारबारे अन्य सांसदले पनि खुलेर बोल्न थालेका छन् । सोमबार संसद्मा सेयर बजारबारे दुई सांसदले उठाएको विषयले अहिले चर्चा कमाएको छ । त्यसमाथि पनि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बोलेको कुराले विशेष चर्चा पाइरहेको छ । संसद्मा बोल्दै सिंहले सहकारीमा जस्तै सेयर बजारमा पनि नेपाली जनताको अरबौँ रुपैयाँ ठग्ने काम भइरहेको आरोपमात्र लगाएनन्, बरु इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिम रूपमा सेयरको भाउ बढाइएकोसमेत दाबी गरे । कतिपय सेयर लगानीकर्ताको नाम नै लिएर उनले ६ सयको सेयर कसरी २१ सय ५४ रुपैयाँ पुग्यो भनेर प्रश्न पनि गरे । र उनको यो प्रश्नले अहिले सेयर बजारमात्र होइन समग्र राजनीति नै तातेको छ । सिंहले सोझा नेपाली जनतालाई ठग्ने काम गर्न नहुने बताउँदै यसको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न र कारबाही गर्न सरकारसमक्ष माग गरे ।
यता सिंह मात्र होइन पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको दाबी गरेका छन् । महतले केही चलखेलकर्ताले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएको तर्फ पनि संसदको ध्यानाकर्षण गराएका छन् । यसअघि पनि केही दिन अघि उनले सेयर बजारमा भित्री कारोबार हुने सम्भावना रहेको भन्दै संसदीय समितिमा प्रश्न उठाएका थिए । बाँकी उनकै शब्दमा सुनौँ, उनको यो तर्क ।
संसदको गरिमामय बैठकमा ञकारोबार समयझमा कुनै स्टकको नाम र लगानीकर्ताको नामै तोकेर बोल्नु सहि पक्कै होइन । क्लबहाउसमा बोल्दा गलत भन्ने, इन्साईडर भन्ने, सर्कुलर वा यस्तै केहि भन्ने अनि संसदमा बोल्दा ञठिकझ भन्न सकिन्न । कुन स्टकको भाउ कति हुनुपर्ने हो भन्ने तथ्य नेताले तोक्ने विषय होइन । हिजो दर्जनौं कम्पनीको सेयर अंकित मूल्यभन्दा तल आउँदा नबोल्ने सांसदहरुले कुनै अमुक ब्यक्तिले लेखेर दिएको चिट बाचन गर्ने र रिस फेर्ने थलो संसद होइन । यसतर्फ सांसदहरुले पनि ख्याल गर्नुपर्छ । भलै, न सांसदले भनेका कुरा सोर्है आना गलत छ, न सोर्है आना सहि छ । तथ्यचाहिं के हो भने सांसदहरुले बोलेको कुराले भोलिपल्टको बजार नमज्जासँग प्रभावित भएकोचाहिं पक्कै छ ।
धन्न अर्थमन्त्री पोजेटिभ छन् र बजारमा लगानीकर्ताको आत्मविश्वास त्यति साह्रो गुमेको छैन । अर्थमन्त्रीमा बिष्णु पौडेल आएपछि सेयर बजारले लय लिएको छ । कतिपयले त यहि कारण यो बुललाई बिष्णु बुलसमेत भनेका छन् । यसो त सरकार पनि सेयर बजार प्रति सकारात्मक मात्र बनेको छैन, सेयर बजार बढ्नुपर्छ भन्नेतर्फ स्पष्ट रहेको देखिन्छ । र त अर्थमन्त्री पनि बारम्बार भनिरहेका छन्, यो सेयर लगानीकर्ताले रुचाएको सरकार हो ।
बजार हो, घट्ने, बढ्ने भईरहन्छ । बजार हो, खेलाडी खेल्छन्, कोहिले टीएमएसमा बटन थिचेर खेल्छन्, कोहिले नेताको दिमाग भुटेर खेल्छन्, खेल्नचाहिं खेल्छन् । त्यसैले खेलमा लाग्दा तपाईंमाथि पनि झेल हुन्छ । सेयर बजार खेल्ने ठाउँ होइन, लगानी र प्रतिफलको ठाउँ हो भन्ने बुझेमात्र बजारमा घाटाको सम्भावना कम हुन्छ । आजको भोलि, भोलिको पर्सी करोडपति बन्छु भनेर विना अध्ययन लाग्नेहरु पुग्ने रोडमै हो । यति बुझेर सेयरमा कम्पनी छानी छानी किन्नेहरुले कमाउने करोड नै हो । अव रोडमा पुग्ने कि करोड कमाउने बाटो तपाईंकै हो । फरक यति हो, रोडको बाटो अलि चिल्लो देखिन्छ, सुन्दरजस्तो देखिन्छ तर कृतिम हुन्छ, करोडको बाटो अलि अफ्ट्यारो, अलि लामो तर सटिक हुन्छ । (भिडियो)