काठमाडौँ । सेयर बजार विश्लेषक रामहरी नेपालले बिहीबार बजारमा देखिएको भोलुम स्वभाविक भएको बताएका छन् । धेरैले बिहीबार देखिएको भोलुम अनपेक्षित भनिरहेका बेला नेपालले आजको बजारमा देखिएको २९ अर्ब ९५ करोडको कारोबार रकम स्वभाविक भएको बताएका हुन् ।
उनले सेयर बजारमा यसरी भोलुम आउनु नै बुलको स्वभाव भएको भन्दै भोलुम बढ्नु पनि स्वभाविक भएको बताएका छन् ।
‘बजार बढ्दा यदि भोलुम पनि बढ्छ भने त्यसलाई पोजेटिभ मानिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै नेपालले भने, ‘पोजेटिभ भोलुम भनेको बेच्नेले महँगो मूल्य मागे र किन्नेले त्यसलाई स्वीकार गरे भने त्यो पोजेटिभ भोलुम हो । यस्तो अवस्थामा बजार र भोलुम दुवै बढ्छ । जुन सेयर बजारका लागि राम्रो संकेत हो ।’
त्यस्तै, उनले अहिले बजारमा देखिएको भोलुम झट्ट सुन्दा धेरैलाई अनपेक्षित र अस्वभाविक लागे पनि खासमा बुलिस मार्केटमा यो स्वभाविक भएको उल्लेख गरेका छन् ।
पछिल्लो केही समयदेखि बजार बिना करेक्सन निरन्तर बढिरहेकोले धेरैलाई बजार रिस्की लागे पनि सही अर्थमा अहिले करेक्सन कुर्नेहरु मात्रै पछुताइरहेको पनि नेपालले बताएका छन् । ‘बुलिस बजारमा कुनै पनि प्राइस महँगो हुँदैन, बियरिस बजारमा कुनै पनि प्राइस सस्तो हुँदैन । महँगोमा किनेर महँगोमै बेच्ने बुल मार्केटको स्वभाव नै हो ।’, उनले भने, ‘अहिले बजारको स्वभाव बुलिस हो । त्यसैले बजारमा माग उच्च छ र माग उच्च हुँदा मूल्य बढ्छ नै । तर, महँगोमा नकिनेर करेक्सन कुर्नेहरु नै पछुताइरहेको अवस्था छ ।’