×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालनमा, कूल लागत ६० करोड

PRIME CA

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालनमा, कूल लागत ६० करोड

अर्थ सरोकार

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका-४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभएको हो ।
पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती-४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।
सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेको पाइएको छ । नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालको कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत ६० करोड निर्धारण गरिएको छ भने हालसम्म ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो ।
गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ । यस तालमा हंसराज प्रजातिको हाँससमेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगरप्रमुख थापाले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: