काठमाडौँ । गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो ।
सुनको मूल्य घटेपछि न्युरोडमा यतिबेला सुन किन्नेहरुको चहलपहल बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरुको भनाई छ । अझ विवाहको सिजनकै बेलामा सुनको मूल्य घटेपछि सुन पसलमा ऋण किन्नेहरुको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः