काठमाडौँ । हात्ती महोत्सवमा यसपालि खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ । चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा शनिबार हात्ती वनभोज कार्यक्रम सञ्चालन गरिएको हो ।
हात्तीको वनभोज कार्यक्रममा हात्तीहरुलाई मिठो मिठो खाना खुवाएर आराम गर्न दिइएको थियो । लगभग १८ देखि २० थरिका खाने कुराहरु हात्तीलाई खान दिइएको थियो । हात्तीको वनभोज कार्यक्रममा ३५ वटा हात्तीलाई वनभोज गराइएको थियो ।
वनभोजमा भेलीमा पकाइएको चामल, ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै लगायतका खाने कुरा खुवाइएको थियो । महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन् ।
हात्ती महोत्सवमा शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । बाँकी तस्विरमा हेर्नुहोस्ः